पृष्ठभूमि
विश्वव्यापी वातावरणीय संकट, महामारीको बढ्दो
जोखिम, घातक प्रदूषण, एन्टिमाइक्रोबियल
प्रतिरोध, तथा सामाजिक–आर्थिक र राजनीतिक
अस्थिरताले सार्वजनिक स्वास्थ्यका चुनौतीहरूलाई
जटिल बनाइरहेका छन्। यस्ता चुनौतीका बीच तथ्यमा
आधारित, खोजमूलक र उत्तरदायी स्वास्थ्य
पत्रकारिताको आवश्यकता झन् बढ्दो छ।
कोभिड–१९ महामारीले स्वास्थ्य पत्रकारिताको
महत्वलाई स्पष्ट रूपमा उजागर गर्यो। तर नेपालमा
स्वास्थ्य पत्रकारिता अझै सीमित स्रोत, न्यून
प्राथमिकता र संस्थागत सहयोगको अभावका कारण
अपेक्षित रूपमा विकसित हुन सकेको छैन। पछिल्ला
वर्षहरूमा समग्र पत्रकारिता क्षेत्रले भोगिरहेका
आर्थिक तथा पेशागत संकटका कारण स्वास्थ्य
पत्रकारिता अझ कमजोर बन्दै गएको देखिन्छ। यही
आवश्यकता महसुस गर्दै NICRF ले Arete
Healthsciences को पनि आर्थिक सहयोगमा नेपालमा
गुणस्तरीय स्वास्थ्य पत्रकारिता प्रवर्द्धन गर्न
“स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (Health
Journalism Fellowship)” सुरु गर्ने प्रस्ताव
गरेका छन्। यस कार्यक्रममार्फत स्वास्थ्य
क्षेत्रका जटिल विषयमा गहन अनुसन्धान, तथ्यपरक
रिपोर्टिङ तथा जनहितमुखी पत्रकारितालाई
प्रोत्साहन गरिनेछ।
कार्यक्रमको उद्देश्य
यस अध्ययनवृत्तिको मुख्य उद्देश्य नेपालमा
खोजमूलक तथा उत्तरदायी स्वास्थ्य पत्रकारिताको
विकास गर्नु हो। विशेष उद्देश्यहरू निम्नानुसार
छन्:
-
स्वास्थ्य पत्रकारहरूलाई गहन अनुसन्धानमा
आधारित सामग्री उत्पादनका लागि प्रोत्साहन
गर्नु।
-
सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जटिल
मुद्दाहरूमा तथ्यपरक र प्रभावकारी रिपोर्टिङको
क्षमता अभिवृद्धि गर्नु।
-
स्वास्थ्य पत्रकारिता क्षेत्रमा विशेषज्ञ
“मेन्टोर” तथा अनुसन्धान स्रोतहरूसँग पहुँच
विस्तार गर्नु।
-
जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सार्वजनिक
बहस, नीतिगत संवाद र उत्तरदायित्व अभिवृद्धि
गर्नु।
अध्ययनवृत्तिको स्वरूप
-
अध्ययनवृत्ति वर्षमा एक पटक प्रतिस्पर्धात्मक
प्रक्रियाबाट एक जना स्वास्थ्य पत्रकारलाई
प्रदान गरिनेछ।
- अध्ययनवृत्तिको अवधि ६ महिना हुनेछ।
-
अध्येतालाई ६ महिनासम्म प्रति महिना रु.
५०,००० (करकट्टीपूर्व) उपलब्ध गराइनेछ।
-
अध्ययनवृत्ति अवधिभर अध्येताले कम्तिमा २ वटा
गहन खोजमूलक स्वास्थ्य पत्रकारिताका सामग्री
तयार गरी प्रकाशन/प्रसारण गर्नुपर्नेछ।
मेन्टोरशिप तथा सिकाइ सहयोग
-
अध्ययनवृत्तिको क्रममा स्वास्थ्य, अनुसन्धान
तथा सञ्चार क्षेत्रमा अनुभव भएका
विशेषज्ञहरूको समूहले “मेन्टोर” वा “कोच” को
रूपमा सहयोग तथा मार्गनिर्देशन गर्नेछ।
-
अध्येता र मेन्टोरहरूबीच आवश्यकता अनुसार
नियमित भेटघाट तथा संवाद हुनेछ।
-
मेन्टोरहरूले आवश्यक पठन सामग्री, अनुसन्धान
स्रोत, अनलाइन प्रशिक्षण तथा अभिमुखीकरण सत्र
उपलब्ध गराउन सक्नेछन्।
-
अध्ययनवृत्तिको क्रममा अध्येताले आफूले
अनुसन्धान गर्न चाहेका विषयहरू
मेन्टोरहरूसँगको परामर्शपछि अन्तिम रूप
दिनेछन्।
-
आवेदनका क्रममा प्रस्ताव गरिएका विषयहरूलाई
निरन्तरता दिन सकिनेछ, तर आवश्यकताअनुसार नयाँ
विषय पनि छनोट गर्न सकिनेछ।
मेन्टोरहरूको सूची
(अरु मेन्टोरहरू पनि थपिन सक्नुहुनेछ)
-
डा सुशील कोइराल
-
डा उत्तम बाबु श्रेष्ठ
-
डा युवराज आचार्य
-
डा मधुरिमा भद्र
-
सोनिया अवाले
-
डा समीर लामा
-
डा सिद्धि अर्याल
-
अमृता लम्साल
लक्ष्यित सहभाग
यो अध्ययनवृत्ति मुख्यतः
नेपाली भाषामा लेख्ने तथा नेपालका
सञ्चारमाध्यममा स्वास्थ्य पत्रकारितामा सक्रिय
प्रारम्भिक वा मध्य-करियरका पत्रकारहरूका लागि
लक्ष्यित हुनेछ।
छनोट प्रक्रिय
प्राप्त आवेदनहरूको मूल्यांकन स्वास्थ्य क्षेत्र
तथा स्वास्थ्य सञ्चारमा दीर्घ अनुभव भएका तीन
जना विज्ञहरूको स्वतन्त्र समूहले गर्नेछ।
मूल्यांकनका आधारहरूमा निम्न पक्षहरू समावेश
हुनेछन्:
-
विगतका स्वास्थ्य पत्रकारिताका कामको गुणस्तर
- अनुसन्धान क्षमता तथा विषयको मौलिकता
- प्रस्तावित विषयहरूको सार्वजनिक महत्व
-
खोजमूलक पत्रकारिता गर्ने सम्भाव्यता र
प्रतिबद्धता
छनोट प्रक्रियापछि उत्कृष्ट एक जना आवेदकलाई
अध्ययनवृत्ति प्रदान गरिनेछ।
आवेदनका लागि आवश्यक कागजात
आवेदकहरूले निम्न सामग्री संलग्न गरी तोकिएको
मितिभित्र इमेलमार्फत आवेदन दिनुपर्नेछः
-
विगत दुई वर्षभित्र प्रकाशित/प्रसारित आफ्ना
उत्कृष्ट तीन वटा स्वास्थ्य
पत्रकारितासम्बन्धी सामग्रीको प्रतिलिपि।
-
आगामी ६ महिनामा अनुसन्धान गर्न इच्छुक बढीमा
पाँच वटा स्वास्थ्यसम्बन्धी विषयहरूको सूची।
-
ती विषयहरूमा कसरी अनुसन्धान गर्ने भन्ने
संक्षिप्त योजना सहितको कभर लेटर।
इमेलको विषय लेख्ने कोष्ठमा “Application for
Health Journalism Fellowship” उल्लेख
गर्नुपर्नेछ।
अपेक्षित प्रभाव
यस अध्ययनवृत्तिबाट नेपालमा प्रमाणमा आधारित
स्वास्थ्य पत्रकारिता प्रवर्द्धन हुने, जटिल
स्वास्थ्य मुद्दामाथि गहन रिपोर्टिङ बढ्ने, र
पत्रकार तथा स्वास्थ्य विज्ञबिच सहकार्यको
वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
दीर्घकालीन रूपमा यसले सार्वजनिक
स्वास्थ्यसम्बन्धी सूचना प्रवाहलाई विश्वसनीय,
उत्तरदायी र जनमुखी बनाउन सहयोग पुर्याउनेछ।